Nepal News Time March 29, 2018

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन यसैसाता गोप्य रुपमा चीन भ्रमणमा पुगे। उनले बेइजिङ छोडेपछि मात्रै दुवै देशले यो भ्रमणको पुष्टि गरे। कोरियाली प्रायद्वीपमा तनाव कम हुँदै गर्दा किम किन चिनियाँ राष्ट्रपति सी जिनपिङ भेट् पुगे भन्ने विषयमा अनेक अड्कलबाजी भइरहेका छन्।

दक्षिण कोरियाका पूर्व विदेशमन्त्री युन ब्युङ सेले भने ‘शिखरवार्ता कूटनीति’ मा किमको अनुभवका कमीका कारण उनले सीलाई भेटेको बताएका छन्।

‘किम दक्षिण कोरियाली राष्ट्रपति मुन जे इन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखरवार्ताको तयारी गरिरहेका छन्। तर शिखरवार्ता कूटनीतिमा किम अनुभवी छैनन्,’ युनको भनाइ साउथ चाइना मर्निङ पोस्टले उधृत गरेको छ।

सी र किम

‘सायद उनलाई ट्रम्प, जो मनमौजी छन्, सँग कसरी वार्ता गर्ने भन्ने विषयमा सीबाट सल्लाह चाहिएको हुनसक्छ,’ उनले भने।

३४ वर्षे किमभन्दा सी करिब ३० वर्ष जेठा छन् र उनले ट्रम्पसँग दुई पटक शिखरवार्ता गरिसकेका छन्।

आफ्ना नोटबुकमा टिप्पणी लेखिरहेका जर्नेलहरुलाई ठाउँको ठाउँ निर्देशन दिने व्यक्तिको छवि बनाएका किमको हाउभाउ बेइजिङमा भने फरक थियो।

टेलिभिजन फुटेजहरुमा सी बोलिरहेका बेला किम ध्यानपूर्वक आफैँ टिप्पणी लेखिरहेका देखिएका थिए।

गतवर्षको उत्तरार्धमा तनाव चर्केको बेला ट्रम्पलाई ‘डोटार्ड’ शब्दले सम्बोधन गरेका किम सीका साथमा विनम्र रुपमा प्रस्तुत भएका थिए।

Leave a comment.

Your email address will not be published. Required fields are marked*