Nepal News Time March 21, 2018

अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी एसियन कप–२०१९ को छनोट चरणअन्तर्गत यमनविरुद्धको खेलका लागि छोटो तयारीमै नेपाली राष्ट्रिय टिमको घोषणा गरेको छ ।

एन्फाले मंगलबार तीन दिनको पूर्ण तयारीमा यमनविरुद्धको खेलको २० सदस्यीय नेपाली राष्ट्रिय टिमको घोषणा गरेको हो । मोफसलका विभिन्न प्रतियोगिताका कारण क्लबहरूले खेलाडी छाड्न नमानेपछि राष्ट्रिय टिमको तयारी पूरै प्रभावित बनेको थियो । नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जापनिज ग्योतोकु कोजीले आफ्नो दोस्रो कार्यकालका लागि तीन साताआघि नवीकरण गरेको दिन राष्ट्रिय टिमको प्रशिक्षण फागुन २० गतेबाट सुरु हुने बताएको थियो । तर, क्लबहरूले खेलाडी छाड्न नमानेपछि राष्ट्रिय टिमको प्रशिक्षण पूर्ण रूपमा हुन सकेको थिएन । बुटवलको तिलोत्तमा गोल्डकप सकिएपछि आइतबारबाट राष्ट्रिय टिमको पूर्ण प्रशिक्षण सुरु भएको थियो ।
प्रारम्भिक चरणमा कोजीले चोटमुक्त हुँदै खेलमा फर्किएका रबिन श्रेष्ठ, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, टंक बस्नेत र दुई नयाँ खेलाडी सुमन अर्याल र निरकुमार राईलाई पहिलोपटक राष्ट्रिय टिमको प्रारम्भिक सूचीमा बोलाएका थिए ।

प्रशिक्षक कोजीले प्रारम्भिक सूचीमा रहेका २८ खेलाडीबाट २० खेलाडी छनोट गरेका हुन् । छनोट हुने खेलाडीहरूमा बिमल घर्ती मगर, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, विशाल राई, रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापा मगर, सुजल श्रेष्ठ, सुनिल बल, अन्जन विष्ट, सुमन लामा, विराज महर्जन, रजिन धिमाल, देवेन्द्र तामाङ, आदित्य चौधरी, अनन्त तामाङ, दिनेश राजवंशी, किरण चेम्जोङ, विकेश कुथु र एलन न्यौपाने रहेका छन् । इन्डोनेसियाको लिग खेलिरहेका रोहित चन्द उतैबाट कतार पुग्नेछन् ।

प्रशिक्षणमा रहेका कमल श्रेष्ठ, रबिन श्रेष्ठ, विशाल श्रेष्ठ र विमल बस्नेत, जितेन्द्र कार्की, सुमन अर्याल, टंक बस्नेत र निरकुमार राईले स्थान बनाउन सकेनन् । सुमन र निरकुमार पहिलोपटक राष्ट्रिय टिमको प्रारम्भिक सूचीमा पर्न सफल भएका हुन् । दोहोरो पहेंलो कार्डको कारण भरत खवास निलम्वनमा छन् । चोटका कारण विक्रम लामा टिमबाहिर छन् ।

नेपालले मार्च २७ मा यमनविरुद्ध कतारमा अन्तिम खेल खेल्दै छ । छनोटमा समूह ‘एफ’ मा रहेको नेपालले समूह चरणका ५ खेलमध्ये २ बराबरी र ३ खेलमा पराजय बेहोर्दै २ अंक जोड्दै समूहको पुछारमा रहेको छ ।

यमनविरुद्धको खेल नेपालका लागि प्रतिष्ठाको लडाइँ मात्र हुनेछ । एएफसी एसियन कप छनोटमा छनोट भएर पनि ग्वामले नखेल्ने भएपछि नेपालले छनोट खेल्ने मौका पाएको हो । ग्वामले छनोटबाट हात झिकेसँगै एसियाली फुटबल महासंघ (एएफसी)ले नेपाललाई मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप विजेताको हैसियतमा छनोटमा सहभागिता गराएको हो ।

Leave a comment.

Your email address will not be published. Required fields are marked*